ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउन गुरुयोजना
बाग्लुङ | जेठ २५, २०७९
ढोरपाटन: गण्डकी प्रदेश सरकारले ढोरपाटन शिकार आरक्ष क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्नका लागि आवश्यक गुरुयोजना बनाउने भएको छ ।
गण्डकी प्रदेश सरकारको अन्तिम कार्यकालमा ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउने योजना अघि सारिएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ढोरपाटन क्षेत्रमा पर्यटन विकासका लागि गुरुयोजना बनाएर काम गर्ने नीति लिएको हो ।
नीति तथा कार्यक्रममा समेट्दै भनिएको छ, “ढोरपाटनलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न गुरुयोजना तयार गरिने छ ।” नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन साहसिक पर्यटनका लागि प्रसिद्ध छ । विदेशी पर्यटकले मात्रै शिकार गर्न पाउने आरक्षमा आन्तरिक पर्यटकसमेत पुग्ने गरेका छन् ।
विदेशी शिकारीका सहयोगीका रूपमा आरक्ष क्षेत्रको सबै ब्लकमा बाहेक आन्तरिक पर्यटक सीमित क्षेत्रमा मात्रै पुग्छन् । ढोरपाटन नगरपालिका–९ देउराली कटेपछि उपत्यका देखिन्छ ।
उपत्यकाभन्दा माथि धेरै बस्ती नहुनु, शिकार आरक्ष क्षेत्रमा रहेका घुम्न मिल्ने ठाउँका विषयमा जानकारी नहुनु र पहुँचमार्गको अभावमा ढोरपाटन पुग्ने पर्यटक विरलै त्यहाँभन्दा माथि पुग्छन् । शिकार आरक्षको कार्यालय पुगेका पर्यटकले आरक्षमा हुने शिकार, पाइने वन्यजन्तु र जडीबुटीको जानकारी त लिन्छन् तर गहिराइमा पुग्न सम्बन्धित क्षेत्रमा पुग्नै पर्छ ।
ढोरपाटन शिकार आरक्षका सबै ब्लकमा पर्यटक पुग्ने गरी कार्यक्रम र पूर्वाधार तयार गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले कार्यक्रम ल्याउनुपर्ने सरोकारवालाले आवाज उठाउँदै आएका थिए । ढोरपाटनमा घुम्न मिल्ने ठाउँको विकास गर्नसके पर्यटकका लागि राम्रो गन्तव्य हुने शिकार अरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेल बताउनुहुन्छ ।
शिकार आरक्षको व्यवस्थापन पक्षले बनाएको योजनाअनुसार गुरुयोजना तयार हुँदा ढोरपाटन बागलुङमा पर्यटनको हब बन्छ । शिकारका लागि आउने साहसिक शिकारीमात्रै ढोरपाटन शिकार आरक्षका विभिन्न ब्लकमा पुग्छन् । ढोरपाटन शिकार आरक्ष क्षेत्रको सबैभन्दा नजिकको पुग्नैपर्ने गन्तव्य हो, म्याग्दी जिल्लाको सिमानामा पर्ने जलजला ।
ढोरपाटन उपत्यकाबाट २४ किलोमिटर दूरीमा पर्ने जलजलाको बीचमा पर्छ गुर्जाघाट । ढोरपाटन, गुर्जाघाट हुँदै जलजला पुग्न पदमार्गको निर्माण तथा स्तरोन्नतिमा शिकार आरक्ष कार्यालय लागेको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

